काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बिहीबार कार्यालय पुगेका छन् । नगर प्रहरीको अवरोधका बाबजुद केही वडाध्यक्ष र कर्मचारीहरुले उनलाई महानगरमा प्रवेश गराएका हुन ।
उनी आफ्नो कार्यकक्षमा भने प्रवेश गरेका छैनन् । उनको कार्यकक्षमा नगर प्रमुख वालेन्द्र शाह (वालेन)ले ताला लगाएका छन् । कर्मचारीहरुले ताला फुटाएर भएपनि गुरागाईलाई कार्यालयमा प्रवेश गराउने बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा प्रवेश नदिँदा तलव खान नपाएको भन्दै कर्मचारीहरुले वालेन शाहप्रति आक्रोश व्यक्त गरेका छन् । गुरागाईं कार्यालय पुगेपछि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा अहिले बैठक बसिरहेको छ । वैठकमा वडाध्यक्षहरू पनि सहभागी छन् ।
गुरागाईंलाई रोक्न शाहले नगर प्रहरी परिचालन गरेका थिए । तर कर्मचारीहरूको समूहले प्रहरीको अवरोध पन्छाउँदै कार्यालय प्रवेश गराएका हुन ।
गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
कर्मचारीहरुले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।