काठमाडौंं । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई जनाका परिवारलाई १०/१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ ।
गत शुक्रबार राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो । त्यस्तै, समाचार संकलनमा खटिएका एभिन्यूजकर्मी पत्रकार सुरेश रजकको एक स्थानीयको घरभित्र जिउँदै जलाएर हत्या गरिएको थियो ।
गृह मन्त्रालय स्रोतका अनुसार दुबै परिवारलाई राहतस्वरूप १०/१० लाख रुपैयाँ दिने निर्णय भइसकेको छ, जसका लागि मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।
स्रोतका अनुसार गृह मन्त्रालयले सञ्चारकर्मीहरूको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । सोहीअनुसार कार्यालयले आवश्यक तयारी थालेको छ ।