काठमाडौं । नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई आज नियुक्ति पत्र प्रदान गरेका हुन ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई सीईओमा नियुक्त गरेको थियो ।
नेप्से सीईओका लागि गत फागुन १२ मा पहिलोपटक आवेदन माग हुँदा १२ जनाले आवेदन दिएका थिए । तीमध्ये यही चैत ३ मा अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले चापागाईसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सिफारिस गरेको थियो ।
अघिल्लो पटकको मन्त्रिपरिषद् बैठकमै लुइँटेललाई नियुक्त गरेको समाचार आएको थियो । तर उनको नाममा विवाद देखिए पछि सो निर्णय मुख्यसचिवले प्रमाणित गरेर अर्थ भने पठाएका थिएनन् ।
बैंकर चापागाईं सानिमा बैंकको इटहरी शाखाका म्यानेजरको रूपमा २०१४ देखि २०१७ सम्म ३ वर्ष काम गरेका थिए । त्यसपछि उनी असिस्टेन्ट जनरल म्यानेजरको रूपमा युनियन लाइफ इन्स्योरेन्समा गएका थिए । युनियनपछि उनले तत्कालीन सानिमा लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको भूमिकासमेत निर्वाह गरेका थिए ।