काठमाडौं । शुक्रबार राजावादीले गरेको संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरी घेरा तोडेर ज्यान जोगाएको बताएका छन् ।
प्रदर्शनका क्रममा प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेपछि आन्दोलन थप उग्र बनेको थियो । पक्राउका लागि प्रहरीको खोजीमा रहेका उनले आफू भागेको नभई काठमाडौंको एउटा मन्दिरमा सुरक्षित बसेको बताएका छन् ।
प्रदर्शन हिंसात्मक बनेपछि फरार भएका आन्दोलनका कमाण्डर प्रसाईले केहीबेरअघि सामाजिक सञ्जालमा एक भिडिओ सन्देश पोस्ट गर्दै आफू भाग्नलाई जन्मिएको होइन भन्दै प्रहरीसँग माफी मागेका छन् ।
प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे आफू जति कोही नभएको स्पष्टिकरण दिँदै उनले भनेका छन् “‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु ।”
‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडिओमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’
उनले भनेका छन् –
चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डेसमा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन् । हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले । मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ ।
माओवादीको सभामा ३ हजार मान्छे आए, हाम्रा मान्छे बढी हुन्छन् भनेर कलंकी, गौशाला, बसपार्कको मास आउन दिएनन् । जुलुस बाटोबाटोमा रोकेर १५ मिनेट अगाडिदेखि रणभूमि बनाए । म सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हो । प्रहरीप्रति दुश्मनी होइन । पर्न गएको चोटमा क्षमा चाहन्छु ।
दुर्गा प्रसाईं टाढा छैन । १२ भाइ मिडिया हात धोएर लाग्या छन् । म भागेको छैन, भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ । त्यसैले सुरक्षितमात्रै बसेको हो । प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु ।