तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवनको काम सुस्त गतिमा चलिरहेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपन्छीपालक किसानलाई सहज सेवा दिन सुविधासम्पन्न भवन बनाउन थालेको हो। तर, एक वर्षअघि नै सक्नुपर्ने भवन अझै अधुरो छ। केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा. रामनरेश यादवले यो जानकारी दिए।
पशुपन्छीको गुणस्तरीय उपचारका लागि गत पुसमा सक्ने गरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्म म्याद थपियो। निर्माण कम्पनीको ढिलाइले काम सम्पन्न हुन नसकेको यादवले बताए। काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिएपछि केही प्रगति भएको उनले भने। ‘हालको ठेकेदारले काम नगरे ठेक्का तोडेर भए पनि भवन बनाउने लक्ष्य थियो, ढलान सकियो, अन्य संरचनाको काम बाँकी छ,’ उनले थपे।
गण्डकी प्रदेश सरकारले ४ करोड ९० लाख ८३ हजार रुपैयाँको लागतमा भवन बनाउन सम्झौता गरेको थियो। अस्पतालका आवश्यक पूर्वाधारसहित सञ्चालन गर्न १० करोड लाग्ने अनुमान छ। साढे दुई तलाको भवनको ढलान सकिएको केन्द्रका लेखा अधिकृत पार्वती पौडेलले बताए।
निर्माण कम्पनीका साइट इन्चार्ज विमल खरेलले ढलान सकिएको र अन्य काम बाँकी रहेको जानकारी दिए। असार मसान्तसम्म भवन सक्नुपर्ने सम्झौता छ। ‘बजेट अभावले काम अगाडि बढ्न सकेको छैन, अस्पतालमा आवश्यक संरचना बन्न बाँकी छ,’ उनले भने।
साढे एक रोपनीमा बन्ने यो अस्पतालको सेवा प्रवाहका लागि थप भौतिक संरचना बनाउनुपर्ने अवस्था छ। पोखरामा भने यही समयमा सुरु भएको नमूना अस्पतालबाट सेवा सुरु भइसकेको छ। (रासस)