काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तगी प्रकरण अब अदालतको विषय भइसकेकाले माओवादीले प्रधानमन्त्रीको जवाफ माग्नु उचित नहुने बताएका छन् ।
संसद भवनमा सञ्चारकर्मीहरुसँग महामन्त्री शर्माले भने ‘संसद् प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भनेको छ । यसबारेमा मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भइसक्यो । सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद् अवरोध गरिरहने कुरा उचित हुँदैन ।’
त्यस्तै महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई हटाएर गलत गरेको दोहोर्याएका छन् । आफू र अर्का महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीलाई सुझाव दिँदा कुलमानलाई नहटाउनको लागि भनेको उनले बताए ।
कांग्रेस पदाधिकारी बैठकमा समेत कुलमानलाई हटाउन हुँदैन भनेर नै छलफल भएको र हटाउने कुरामा पदाधिकारी बैठकको सहमति नरहेको उनले बताएका छन् ।