झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु. १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु. ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रु. १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।
चालु आवका आठ महिनामा पेट्रोलियम पदार्थको आयातबाट रु. छ अर्ब १२ करोड ४२ लाख राजस्व संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा रु. पाँच अर्ब ८० करोड १८ लाख राजस्व संकलन भएको थियो ।