काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन २०८४ को चुनावअघि नै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन सुर्खेतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले आम निर्वाचन अघि पार्टीको महाधिवेशन नभएमा पार्टी झन नाजुक अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
आफू सभापतिको उम्मेदवार हुने जानकारी गराइसकेको बताउँदै नेता कोइरालाले पार्टीको महाधिवेशनको अवधि २०८२ मङ्सिरमा सकिने र संविधानले दिएअनुसार बढीमा डेढ वर्ष थप गर्न मिल्ने हुँदा समयमै महाधिवेशन हुनुपर्ने बताएका छन् ।
नेता कोइरालाले संविधान संशोधन, सुशासन, आर्थिक अवस्थामा सुधार ल्याउने जस्ता सात बुँदा गरेर कांग्रेस र एमालेले सरकार गठन गरे पनि सहमतिअनुसार काम हुन नसकेको बताउँदै खबरदारी गरिरहनु परेको स्पष्ट पारेका छन् ।
देशको अवस्था जटिल भएको भन्दै कांग्रेस र एमालेले पनि सुशासन कायम गर्न, आर्थिक कठिनाइलाई सुधार ल्याउन र संविधान संशोधन गर्ने जस्ता काम गर्न नसके जनतामा थप निरासा आउने बताएका छन् ।
त्यस्तै नेता कोइरालाले अमेरिकाले नेपालललाई यूएसडमार्फत दिने रकम ठगी हो भनेर रोकेको बेला अब नेपाल सरकारले पनि आफूलाई सतर्क बनाएर काम गर्नुपर्ने बताएका छन् ।
शिक्षा र स्वास्थ्यमा यूएसएडमार्फत आएको सहयोग राम्रो भए पनि अन्य क्षेत्रमा पनि आएकोले अब नेपाल सरकारले पनि यसमा पुनर्विचार गर्नुपर्ने कोइरालाले बताएका छन् ।
सङ्घ सरकारले अधिकार नदिँदा प्रदेश सरकारहरू परनिर्भर बन्नुपरेको र सक्षम बन्न नसकेको वताउँदै नेता कोइरालाले संविधानतः प्रदेशलाई दिनुपर्ने अधिकार सङ्घीय सरकारले दिनुपर्ने बताएका छन् ।