काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनबाट परिवर्तन जन्मिएरै छाड्ने बताएका छन् ।
बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि प्रतिक्रिया दिने क्रममा चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको दाबी गरे ।
लामिछानेले थपे, ‘अहिले कुम्भमेला चलेको छ भनिएको छ । हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौंपटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् । त्यस्तो ठाउँ हो यो ठाउँ ।’
अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको बताउँदै उनले भने, “यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको छ । अघिल्लो निर्वाचनमा नै व्यक्ति चुनेको होइन । देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको पीडा हो । परिवर्तन जन्मिएरै छाड्छ ।”
जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको एकल इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।