काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्षभित्र ‘आइटिपार्क’ स्थापना गर्ने बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘काठमाडौँमा यस वर्षभित्रै आइटिपार्क निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ।’ कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल (क्यान महासङ्घ)ले आयोजना गरेको ३०औँ क्यान इन्फोटेक–२०२५ को शुभारम्भ गर्दै मन्त्री गुरुङले डिजिटल फ्रेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने उल्लेख गरे।
सूचना प्रविधिको युगमा आइपुग्दासमेत नेपालमा एउटा पनि ‘आइटी पार्क’ नहुनु प्राविधिक हिसाबले पछि पर्नु भन्दै उनले आफू मन्त्रालयको तर्फबाट इन्फ्रास्ट्रक्चर, आइटी नीति, एआइ नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए।
‘डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचनाप्रविधिका पूर्वाधार सिर्जना गर्नुपर्छ’, उनले भने, ‘यस वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटिपार्क बनाउछौँ।’
मन्त्री गुरुङले एआइ नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए। साथै यसै वर्षभित्र ७५३ पालिकामा फोर–जी सबैका घर–घर पु¥याउने र फाइभ–जी काठमाडौँबाट सुरु गर्न मन्त्रालय सक्रिय रहेको उल्लेख गरे।
साउथ एसियामै एआइको नीति बनाउने विषयमा नेपालपछि परेको अवस्था दर्शाउँदै मन्त्री गुङले भने, ‘सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ।’
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियोमार्फत शुभकामना सन्देशसमेत प्रस्तुत गरिएको थियो। सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले अध्ययादेशमार्फत कानुन ल्याएर विदेशमासमेत लगानी गरी उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको र यसले युवा रोजगारमा उत्साह थपेको दाबी गरे। (रासस)