काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरिरहेको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति इंगित गर्दै सो कुरा बताएका हुन ।
अध्यादेश सवै सरकारले ल्याउने र यो सम्वैधानिक विषय भएको बताउँदै सांसद भट्टराईले हाल संसदमा रहेका दल र सांसद मध्ये प्रेम सुवाल र योगेन्द्र मण्डललाई मात्र अध्यादेशको विरोध गर्ने नैतिक अधिकार रहेको बताएका छन् । उनीहरु आजसम्म सरकारमा सहभागिता नरहेको र त्यसदेखि बाहेक कसैले अध्यादेशको बारेमा विमत्ति राख्नु नौटंकी हुने चेतावनी उनले दिएका छन् ।
नेकपा एसप्रति इंगित गर्दै सांसद भट्टराईले भने ‘जुन अध्यादेशबाट जन्मिएको पार्टी हो, त्यो पार्टी अध्यादेश गलत हो भन्दै छ । यो चाहिँ बडा गजब, अचम्म लाग्दो छ । अध्यादेशबाट जन्मिएको छ, अध्यादेश ठीक छैन भनिरहेको छ । यो के हुन लागिरहेको नेपालमा रु अचम्मै भइराखेको छ ।’
त्यसैगरी, सहकारी ठगी छानविनको प्रक्रिया संसद्ले दिएको निर्देशनअनुसार रहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई उनले शिशिर खनालले सही गरेको प्रतिवेदन सम्झिन आग्रह गरेका छन् । सरकारमाथि औंला उठाउनुको कुनै औचित्य नरहेको उनले बताएका छन् ।