काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार जस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरू बाट सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
“सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।
सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङ सहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएका छन् ।