गलकोट । अहिलेको बागलुङ बजार २८४ वर्षभन्दा पुरानो हो। अहिले पनि यहाँ १०० वर्षभन्दा पहिले बनाइएका कलात्मक घर अहिले पनि उस्तै छन्। यहाँको नारायण चोक साँस्कृतिक विविधताले धनी छ। अहिले त्यही नारायणचोक क्षेत्रलाई मौलिक शहरको रूपमा विकास गरी पर्यटक चिनाउने अभियान थालिएको छ।
बागलुङ नगरपालिका- ३ स्थित नारायणचोक आसपासका घर परम्परागत शैलीमा निर्माण भएका छन्। पर्यटकीय शहरका हिसाबले अझै महत्वपूर्ण मानिएको पुरानो शहरलाई स्थानीय र वडा कार्यालय मिलेर पर्यटन भित्र्याउनेगरी मौलिक शहरको रूपमा विकास गर्न थालिएको छ।
नारायणचोकसँगै देउराली चोक, किराना टोल, नौबीसे टोल र कम्पुटोल बागलुङ बजारको पुरानो शहरमा पर्दछ। १०० वर्ष पुरानो बागलुङ बजारको नारायणचोकमा रहेको भक्तिलाल चौपारी अहिले धपक्क बोलेको छ। चौपारीलाई बाँस र खरले छाइएको छ भने बक्तीले झिलीमिली पारिएको छ।
बागलुङ नगरपालिका–३ वडा कार्यालय र स्थानीयको पहलमा गुमनाम बन्दै आएको बागलुङको पुरानो शहर संरक्षण गर्दै मौलिकता झल्कनेगरी सजाउन थालिएको छ। बढ्दो शहरीकरणको चापमा पुरानो शहर ओझेलमा पर्न थालेपछि स्थानीयले शहरको प्रचारप्रसारका लागि प्रवेशद्वार निर्माण, भक्तिलाल चौपारी पुनःनिर्माण, सजावट, सांस्कृतिक कार्यक्रम गर्ने र पर्यटकलाई स्थानीय खानाका परिकार चखाउन थालिएको हो।
मौलिक शहरको रुपमा विकास गर्न भक्तिलाल चौपारीलाई सजाइएको छ भने पाँच वटा टोलको प्रवेशद्वारमा बाँसमाथी खरले छाएका प्रवेशद्वार बनाइएको छ। बढ्दो शहरीकरणका कारण मासिँदै गएको मौलिक शहरलाई जीवितै राख्नका लागि प्रचार-प्रसारमा जुटेको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनी केसीले बताए।
नेवारी बस्तीलाई मौलिक शहरको रुपमा स्थानीयको सक्रियतामा विकास गर्न थालिएको केसीको भनाइ छ। ‘अहिले पुरानो बजारलाई बेहुली झै सिँगारिएको छ, उक्त शहरलाई सधैँ उस्तै बनाउने हाम्रो योजना हो, शहरको विभिन्न ठाउँलाई मौलिकरूपमा देखाउन सजाइएको छ, भक्तिलाल चौपारीमा नियमित सांस्कृतिक कार्यक्रम गरिन्छ” केसीले भने, ‘स्थानीयले सहयोग सङ्कलन गरेका छन् भने वडा कार्यालयले दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ, पर्यटकीय शहरको रुपमा विकास गरेर सुनसान पुरानो शहरलाई गुल्जार बनाउने हाम्रो योजना हो, अहिले शुक्रबार र शनिबार नियमित साँस्कृतिक कार्यक्रम हुन्छ भने पुरानो बजारमा ठूला सवारीसाधान आउनका लागि रोक लगाइएको छ।’
मुख्यतया नारायणचोक र देउराली चोकमा पर्यटक भित्र्याउनका लागि सडकमा ढुङ्गा छाप्ने र बन्दीपुरको झल्को दिनेगरी फूल लगाउने काम थालिएको हो। वडाको अभियानलाई स्थानीय नेवार समुदाय र अन्य समुदायले साथ दिनथालेका छन्। अहिले शुक्रबार र शनिबार साँझमा साँस्कृतिक कार्यक्रम गर्न थालिएको छ। जस्मा नेवारी र मगर संस्कृति देखाउनसमेत थालिसकेको छ।
२०११ सालमा विपीसमेतले भक्तिलाल चौपारीमा उभिएर भाषण गरेको, नेवारी संस्कृति हनुमान नाँच र भदौरे नाँच यही चौपारीबाट निकालिँदै आएको र दशैँमा मालाश्री गाउने चौपारीलाई अहिले सिगारिएको किसानरा टोलका स्थानीय मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए । (रासस)