काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठवन्धन सरकार हामीले बल नगरी ढल्ने अभिव्यक्ति दिइरहेका बेला बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै समस्या नभएको बताउँदै सात वुँदे सहमति कार्यान्यनमा इमानदारसाथ लाग्नु पर्ने बताएका छन् ।
बैठकपछि सभापति देउवाको भनाई उद्धृत गर्दै गृहमन्त्री रमेश लेखकले भने, ‘एमाले र कांग्रेसको सहमतिमा अघि बढ्ने हो । मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो यसमा केन्द्रित भएर काम गर्नुस् । हामी दुई दलबीचमा कुनै समस्या छैन । आआफ्नो मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्नेबारे छलफल भएको छ ।’
सरकारको पछिल्लो कदमलाई लिएर संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला र संस्थापन पक्षकै केही नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेलामा देउवाले गठबन्धनमा कुनै समस्या नभएको स्पष्ट पारेका हुन ।
त्यस्तै मन्त्रीहरूलाई पार्टी कार्यकर्ता र जनताको गुनासो सुन्न निर्देशन दिएको प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् ।
उनले भने, ‘हप्तामा दुई निश्चित दिन मन्त्रीहरूले खुला भेटघाट गर्ने, पार्टीको बीचमा गएर आलोपालो सिस्टमबाट कार्यकर्तासँग भेटघाट गर्ने नागरिकको गुनासो सुन्ने, बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिएको छ ।’
मन्त्रीहरूले काम गर्न गरेको प्रयासप्रति पार्टी सन्तुष्ट रहेको भन्दै यो गठबन्धन सहमतिअनुसार पूरा कार्यकाल चल्ने दाबी गरेका छन् ।
सरकारले ल्याएको अध्यादेश कांग्रेसकै सहमतिमा ल्याएको भएकाले कुनै असन्तुष्टि नरहेको पनि बताए । उनले केही नेताहरूले राखेको विचार व्यक्तिगत भएकाले पार्टीको आधिकारिक धारणा नभएको घिमिरेले बताएका छन् ।
दुई दलबीच भएको ७ बुँदे सहमतिमा केन्द्रित भएर काम गर्दै सेवा प्रवाहको क्षेत्रमा केन्द्रित भएर सुशासन कायम गर्नेमा कांग्रेसका मन्त्रीहरूले जोड दिएका छन् । सरकारमा कांग्रेसबाट दुई राज्यमन्त्रीसहित १२ मन्त्री छन् ।