महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले संघीय संसदमा रहेको शिक्षा विधेयक चाँडो पारित गरेर शिक्षालाई सर्वशुलभ बनाउन कानुन निर्माण गर्ने बताएका छन् ।
शुक्रबार महेन्द्रनगरमा एन प्याव्सन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै मन्त्री लेखकले सर्वसुलभ र गुणस्तरीय शिक्षाका लागि सरकारले सम्झौता नगर्ने बताए ।
उनले शिक्षाको क्षेत्रमा नीजि र आवासिय विद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए ।
उनले अहिले संघीय संसदमा विद्यालयसम्बन्धी विधेयक छलफलमा रहेको बताए ।
त्यसैगरी उनले पछिल्लो समय समाजमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताए ।
उनले लागुऔषधले घरघरका बालबालिकाहरू प्रभावित भइरहेकाले स्थानीय सरकार र नीजिसंघ संस्था सबैले गम्भीर रुपमा लिएर लागुऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए ।