गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ ।
उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृह मन्त्री रवि लामिछाने सहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।
मङ्गलबार लामिछाने तर्फका कानून व्यवसायीको बहस सकिए पछि अन्य प्रतिवादीहरूको बहस शुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। सोमबार र मङ्गलबार लामिछाने पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए ।
यस अघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानूनी व्यवसायीहरूले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवाला सहकारी पीडित पक्षका कानून व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादी तर्फका कानून व्यवसायीको बहस चलिरहेको हो । प्रतिवादीहरूको बयान सकिए लगत्तै यही पुस १६ गते देखि थुनछेक बहस शूरु भएको थियो । प्रतिवादी तर्फका कानून व्यवसायीहरूको बहस सकिए पछि पुनः सरकारी वकिलका तर्फ बाट जवाफी बहस शुरु हुने जनाइएको छ ।
थुनचेक बहस पछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । लामिछाने सहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्व डि.आइ.जी. छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायत माथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रा.स्व.पा.सभापति लामिछाने सहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछाने माथि सहकारी ठगी सँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिले सम्म ६३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछाने सहित १९ जना विरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यस्तै, लामिछाने सँगै खनाल, जोशी र पछाईँ विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । (रासस)