काठमाडौँ । आज विहान नेपाली समय अनुसार ६ः५० बजे चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा ५३ जनाको पुगेको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको छ ।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।
यूएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन् ।
नेपालमा भूकम्पबाट क्षति भएको छैन
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ ।
शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको जानकारी दिए ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको जानकारी दिए । उनले भने, “स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी आवश्यक जानकारी लिने काम भइरहेको छ । ”
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भूकम्पको ठूलै धक्का महसुस भएको बताए । सगरमाथा बेसक्याम्पतर्फ अलि बढी जोखिम रहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी विवरण लिने काम भइरहेको उनले जानकारी दिए ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको जानकारी दिए । भोजपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण बस्नेतले भूकम्पको धक्का महसुस भएको बताए । उनले यसबाट जिल्लामा के–कस्तो क्षति भएको छ विवरणका लागि स्थानीय तह, प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिसकेको जानकारी दिए ।
उता सोलुखुम्वुको विवरण भने आइसकेको छैन । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने, ‘अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण संकलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।’
उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पुर्याएको अनुमान गरेको बताए । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिए ।
‘लबुचेमा केही क्षति भयो कि भन्ने लागेर त्यहाँ हाम्रो टोली खटिएको छ, पुग्न केही समय लाग्न सक्छ तर टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण संकलनमा समस्या भएको छ’, उनले भने। भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए ।