काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा सोमबार बिहान आफैं उपस्थित भएका छन् ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, राणा अदालतमा हाजिर भएपछि न्यायाधीश शिवप्रसाद खनालको इजलासमा उनको बयान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । बयान सकिएपछि थुनछेकसम्बन्धी बहस हुनेछ र त्यसपश्चात न्यायाधीशले आदेश जारी गर्नेछन् ।
यसै मुद्दामा मुछिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझैसम्म सम्पर्कमा आएका छैनन् । गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको आरोपमा प्रहरीले मिश्र र राणाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरू त्यसबेला हाजिरी जमानीमा रिहा भएका थिए ।
उक्त प्रदर्शनका मुख्य संयोजक दुर्गा प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराल अहिले पनि पुर्पक्षका लागि थुनामा छन् ।

























