काठमाडौं । नेपाल सरकार अन्तर्गतको राजस्व अनुसन्धान विभागले कर छलीको अभियोगमा नेपाल क्यान मुभ प्रा.लि. र त्यसका सञ्चालकहरूविरुद्ध १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित नेपाल क्यान मुभ प्रा.लि. को कार्यालयमा गरिएको आकस्मिक निरीक्षणका क्रममा कम्पनीले अनलाइन पोर्टल nepalcanmove.com मार्फत ठूलो परिमाणको सेवा बिक्री गरिरहेको देखिएको थियो । तर उक्त कारोबार कम्पनीले आन्तरिक राजस्व विभागमा पेश गरेको कर विवरणमा नदेखाई राजस्व छली गरेको पाइएको विभागको दाबी छ।
सर्भर अष्ट्रेलियामा, कारोबार लुकाएर कर छली
जाँचका क्रममा खुलेअनुसार कम्पनीले NCM पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा गरिएको सेवा बिक्रीको विवरण लुकाएको थियो। २०७६/७७ देखि २०८१/८२ को फागुन मसान्तसम्मको अवधिमा कर योग्य सेवा बिक्री रु. ७८ करोड २८ लाख ४६ हजार ७६७ देखिएको छ, जसमा मूल्य अभिवृद्धि कर (VAT) र आयकर दुवै छली गरिएको बताइएको छ।
कुल बिगो १ अर्ब ३६ करोड
विभागका अनुसार मूल्य अभिवृद्धि कर, आयकर, जरिवाना, ब्याज र दस्तुर गरी कुल बिगो रकम रु. ६८ करोड ४४ लाख ५ हजार ७६० कायम गरिएको छ। सो बिगोको १०० प्रतिशत जरिवाना थप गरी कुल रु. १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० बराबरको दाबी गरिएको हो।
फरार अभियुक्त, अदालतमा अभियोगपत्र
राजस्व छलीमा संलग्न ठहरिएका कम्पनीका सञ्चालक तथा शेयरधनीहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गंगा बहादुर थापा, मनिष प्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक संगम पौडेल विरुद्ध कारबाही अघि बढाइएको छ। विभागका अनुसार सुदिप आचार्य (५५.३३%) र जीवन ज्ञवाली (१६%) शेयर स्वामित्व भएका प्रमुख सञ्चालकहरू पटकपटक ताकेता गर्दा समेत अनुसन्धानमा उपस्थित नभई फरार छन्।
उनीहरूमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को विभिन्न दफाबमोजिम अभियोग लगाइएको छ। संगम पौडेललाई सहकारी भूमिकामा रहेको ‘मतियार’ मानी आधा सजाय माग गरिएको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति भराइको माग पनि अभियोगपत्रमा समावेश छ।
राजस्व अनुसन्धान विभागले मिति २०८२ असार १ गते उच्च अदालत पाटनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–२० अनुसार अभियोगपत्र दायर गरेको हो।


























