काठमाडौं । राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐनबारे छलफल हुनु अगाडि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस नेता समेत रहेका राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे र सहमहामन्त्री जीवन परियारलगायत छलफलमा सहभागि रहेको बताइएको छ ।
आज बस्ने राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने भएकाले पार्टीको धारणा बनाउन नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।
उपसमितिले भ्रष्टाचार मुद्दामा हदम्याद हटाउने, मुद्दा लाग्नेवित्तिकै राष्ट्रसेवक कर्मचारी स्वतः निलम्बित नहुने, मन्त्रिपरिषद बैठकका नीतिगत निर्णय बाहेकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न सक्ने व्यवस्था सहितको प्रतिवेदन बुझाएको छ ।