काठमाडौँ । एमालेबाट बर्खास्त भएका पूर्वउपाध्यक्ष डा. भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै रावलले अभियान सञ्चालन गरेर विभिन्न पार्टीका नेता, कार्यकर्ता र जनतालाई संगठित गर्दै लाने पछि राजनीतिक पार्टीको रूपमा विकास गर्ने बताएका छन् ।
आफ्नो पुरानो पार्टी नेकपा एमालेका साथै अन्य पार्टीहरुबाट पनि देशको रक्षा, विकास र समृद्धि सम्भवन नदेखिएकाले देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक दावी गर्दै राववले त्यसका निम्ति आफूहरु अघि बढ्ने बताएका छन् ।
मातृभूमि जागरण अभियान राष्ट्रव्यापी सञ्चालन गरेर भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने उनले बताएका छन् ।
एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको आरोप लगाउँदै नेता रावलले केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको, रंग खुइलिएर बामाले भएको टिप्पणी गरेका छन् ।
पत्रकार सम्मेलनमा ३१ पृष्ठ लामो भाषण पढेका रावलले लगभग ३० पृष्ठ एमाले अध्यक्ष केपी ओलीको आलोचना गरेका छन् । उनले आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अबमुल्यन गरेर ओली नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलेको आरोप लगाएका छन् ।
नेता रावलले यसअघि पत्रकार सम्मेलन, गोष्ठी, सेमिनार, अन्तर्वार्तालगायतमा व्यक्त गर्दै आएका मन्तव्य, आरोप, आक्रोशको संगालो आज सार्वजनिक गरेको चर्चा पत्रकार सम्मेलनमा उपस्थितिबीच भएको थियो ।
आफ्नो आगामी योजनाबारे रावलले भनेका छन्, ‘राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । मातृभूमि जागरण जनभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्याहरुको समाधान र चुनौतीहरुको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनु पर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरुका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ । देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको ‘सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने क्रालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ । विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्नुपर्ने छ । यस्ता मान्यताहरुको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।”