पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको वयान सकिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजालासमा बिहीबार र शुक्रबार दुई दिन गरी रविको बयान लिइएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
योसँगै रविसहित पूर्वडिआईजी छविलाल जोशी र लिला पछाईको बयान सकिएको छ। पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, आरती गुरुङको बयान लिन बाँकी छ। आइतबारदेखि पुनः वयान सुरु हुनेछ। सबैको वयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले गत शुक्रबार र आइतबार गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो। रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ ।