काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत एक हजार दुई सय ९८ फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन, मङ्सिरमा दुई सय आठ र यही पुसको ११ गतेसम्म दुई सय ७५ फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार मात्रै ७१ फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। पक्राउ परेकालाई अदालतसमक्ष पेस गरिएको उनको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको थियो। चालु आवको हालसम्म पक्राउ परेका प्रतिवादीविरुद्ध चार करोड ४९ लाख ५३ हजार आठ सय ५९ रुपैयाँ जरिवाना र एक सय २० वर्ष १० दिन कैद फैसला भएको छ। प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका प्रतिवादी लुकिछिपी बसिरहेको जानकारी भए सूचना दिन सर्वसाधारणमा आग्रह गरेको छ।
यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभाग साँखु र बूढानीलकण्ठलाई पुरस्कृत गरेको छ। (रासस)