काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताएका छन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालद्वारा संयुक्तरूपमा आयोजित नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा भएका ऐतिहासिक परिवर्तनमा कांग्रेस र कम्युनिष्ट पार्टी एकढिक्का भएर लागेका इतिहास साक्षी रहेको उल्लेख गरे ।
उनले कांग्रेस र कम्युनिष्ट मिलेर काम गर्दा ऐतिहासिक जित हासिल भएका उदाहरणहरू रहेका जिकिर गरे ।
“मुलुकमा सङ्कट आउँदा दुवै पक्ष एकताबद्ध भएर मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन् । तर आवश्यकताअनुसार कतिपय अवस्थामा कांग्रेस र एमाले प्रतिस्पर्धी पनि बनेका छन्”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले कुनै पनि राजनीतिक दलबिच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै कांग्रेस र कम्युनिष्टबिच पनि अस्वस्थ प्रतिस्पर्धा नरहोस् भनेर सावधानी अपनाउने गरिएको धारणा राखे । उनले राजनीतिक पार्टी फरक-फरक भए पनि आधारभूत विषय देश भक्ति र मुलुकको पूर्वाधार विकास रहेको जिकिर गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाल, भारत र चीनबिच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै त्यसमा सबै संवेदनशील हुनुपर्नेमा जोड दिए । “हामी नेपालीबीच देशको प्रेम र देशभक्तिको भाव अत्यधिक छ”, उनले भने, “राजनीतिक पार्टी फरक भए पनि नागरिकलाई प्राथमिकतामा राखी मुलुकको विकासमा सबै दल केन्द्रित छौँ । हामी दुई ठुला मुलुक भारत र चीनको बिचमा छौँ, यो सम्बन्ध प्रगाढ बनाउन सबै संवेदनशील हुनु जरुरी छ ।”