काठमाडौँ । संघीय निजामती सेवा ऐन छिटो ल्याउन नेपाल निजामती कर्मचारी सङ्गठनले सरकारसँग माग गरेको छ । आज काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती ऐनका सम्बन्धमा हाल संसदीय समितिमा छलफल जारी रहेकाले सो ऐन संसद्को अबको अधिवेशनबाट पारित गर्न माग गरेका छन् ।
अबको अधिवेशनबाट पारित गर्न नसके अध्यादेशबाट भएपनि संघीय निजामती ऐन छिट्टै ल्याउनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष कोइरालाले त्यस्तो हुन नसके सङ्गठन आन्दोलनमा उत्रत्र वाध्य हुने चेतावनी दिएका छन् ।
त्यस्तै नेपाल निजामती कर्मचारी सङ्गठनका उपाध्यक्ष भवानी दाहालले प्रदेश र स्थानीय तहलाई जोड्दै संघीय निजामती सेवा ऐन आउनेमा आफूहरू आशावादी रहेको बताइन् ।
यस्तै सङ्गठनका उपमहासचिव युवाचन्द्र घिमिरेले तलब सुविधा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन आग्रह गर्दै निजामती कर्मचारीको सावधिक जीवन बिमालाई वृद्धि गरी १० लाख रुपैयाँ पुर्याउन, १ सय ८० दिन भन्दा बढी सञ्चित घर बिदा बापतको रकम वार्षिक रुपमा भुक्तानी गर्ने व्यवस्था गर्न लगायत सङ्गठनको सरकारसँग माग रहेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठनले पौष १ र २ गते बसेको केन्द्रीय परिषद् बैठक र प्रथम विधान अधिवेशनबाट भएका निर्णयहरू बारे जानकारी दिन आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
























