पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई आज सातौँ पटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।
प्रहरीले थप ९ दिन म्याद मागे पनि अदालतले ५ दिनको समय मात्र थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकृत सुरज अधिकारीले जानकारी दिएका छन् ।
लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।




















