काठमाडौँ । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएको भन्दै पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य भगबती चौधरीलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा सम्मानित गरिएको छ ।
समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद चौधरीलाई बेलायतको ‘वर्ल्ड बुक अफ रेकर्ड’ले बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ । सांसद चौधरीलाई गत मंसिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
सम्मानीत भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफुले समाज रुपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताइन् । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवद्र्धनमा आफु सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सांसद चौधरीले सम्मानीत हुन पाउँदा गौरवान्तिक भएको बताइन् ।
२०७२ सालको संविधानले सबै खाले विभेदहरुको अन्त्य गरेको भएपनि समाजमा विभेदहरु रहेको जनाउँदै गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकीर गरिन । ‘नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भएपनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरु छन् । परम्परागत, सांस्कृतिक विभेदहरु छन् । महिलाहरु आर्थिक क्षेत्रमा पछाडी परेका छन् । ती सबै विभेदहरुको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ ।’