काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौंमा ल्याइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएको हो ।
आज (शुक्रबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान हुने बताइएको छ । उहाँविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । कास्की हिरासतमा ३९ दिन र दुई दिन रुपन्देही प्रहरीको हिरासतमा बसेका उनलाई ४१ दिनपछि बयानका लागि काठमाडौं झिकाइएको हो ।
काठमाडौं प्रहरी प्रमुख, एसएसपी वसन्त रजौरेले सहकारीको रकम अपचलन गरेर ठगी गरेको मुद्दामा सरकारी वकिल कार्यालयमा बयान लिइनेछ । बयान सकिएपछि रविलाई पुनः कास्की नै पठाइने एसएसपी रजौरेले बताए ।
कास्कीमा चारवटा मुद्दा खेपिरहनु भएका रवि जोडिएको गोर्खा मिडियामा स्वर्णलक्ष्मीबाट दुई करोड २८ लाख ९८ हजार ४८० रुपैयाँ पेस्कीबापत गएको देखिन्छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ ।
उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर हृवाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ ।