काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको छ ।
लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो । लामिछानेलाई अहिले साँझ बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो ।
सहकारीमा ठगी आरोपमा काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएकाले थप अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याइएको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो । जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।