विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिआरआई नयाँ सम्झौता नभएर पुरानै भएकाले त्यसलाई अब टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
बिआरआईका बारेमा उठ्ने गरेको आशंका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने उनको विश्वास छ ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।
‘विकासका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले हाम्रा मित्र राष्ट्रहरूबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा राखेका छौं,’ विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरूसँग महामन्त्री थापाले भने ।
फरक प्रसंगमा महामन्त्री थापाले कांग्रेस र एमालेबीच असार १७ मा भएको ७ बुँदे सहमतिलाई संस्थागत गर्न दुवै दलबीच राजनीतिक संयन्त्र बनेको पनि बताए ।
संविधान संशोधनको विषयमा पहिले कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरूसँग छलफल हुने पनि उनले जानकारी दिए ।
कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने उनको भनाइ छ। ‘कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ,’ उनले भने ।