काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली प्रकट गरेका छन् ।
अन्तिम बिदाईका लागि सानो गौचरणमा पुगेका प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको वताउँदै ढुंगानाले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता औल्याएका छन् ।
ढुंगानालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक पुगेका थिए । देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिएका छन् ।
पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार उपचाररत क्रममा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो ।
सरकारले ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ भने राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।