पर्वत । मोदी गाउँपालिका–१ झिलिबराङस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार ३०९ मिटर उचाइमा रहेको यो स्थानमा हिमाल हेर्न जाने बढेका हुन्।
म्याग्दीको मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ।
म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थानबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँलगायत जिल्ला अवलोकन गर्न सकिन्छ।
लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय लेखबहादुर गुरुङले कोखेडाँडामा कटेज स्थापना गरेकान छन्। पर्यटकको सुविधाका लागि टेलिफोन टावर स्थापना गर्नुपर्ने, विद्युतीकरण र सहज पदमार्ग बनाउन सके पर्यटक बढ्ने उनले बताए।
कोखेडाँडामा विभिन्न ३० देशका झण्डा राखिएको छ। कोखेडाँडा पुग्नका लागि तीनवटा मार्ग छन्। कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी हुँदै पैदल हिँडेर पुग्न सकिन्छ। यो मार्गबाट चारदेखि पाँच घण्टा यात्रा गर्नुपर्छ। त्यसैगरी पातीचौर–बाजुङ–क्याङ–लेसपारसम्म गाडीमा यात्रा गरी झण्डै ६ घण्टाको पैदलयात्रामार्फत पनि पुग्न सकिन्छ। पर्वतको जलजला गाउँपालिकाअन्तर्गत मिलनचोक–शालिजा–तारे–हम्पालसम्म गाडीमा र करिब तीन घण्टाको पैदलयात्रा गरी पनि कोखेडाँडा पुग्न सकिन्छ।
कोखेडाँडा जाने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारमार्फत १० लाख रुपैयाँ विनियोजन भएको छ। यस वर्ष पदमार्ग निर्माण गरिने मोदी गाउँपालिका–१ भुकताङलेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए।
कोखेडाँडा जाने पर्यटक मोदी गाउँपालिका–१ लप्सीबोट र भुकदेउराली र ताङलेमा रहेको होमस्टेमा पनि बास बस्न सक्छन्। त्यस्तै मोदी गाउँपालिका–४ लेसपारमा पनि होमस्टे सुविधा विस्तार गरिएको छ। (रासस)