काठमाडौँ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । बिहीबार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका बालक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
‘कोठामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा भेटिएको छ । शवको प्रकृति हेर्दा धेरै दिन अघि मृत्यु भएको जस्तो देखिन्छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) नवराज अधिकारीले भने, ‘थप अनुसन्धान भइरहेको छ।’
मृतक सीताका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । सो खबरपछि गएको प्रहरीले स्थानीयसँग मिलेर घरको ढोका फोडेर हेर्दा भित्रै शव भेटिएका हुन् ।