सुदूरपश्चिम । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान काँग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् ।
धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । सहकारी प्रकरण र रास्वपा सभापति रवि लामिछाने पक्राउका विषयमा सोधिएको प्रश्नमा देउवाले भने “हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ ।”
सभापति देउवाले रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्नुको अर्थ नभएको बताएका छन् । लामिछाने पक्राउमा सरकारको पूर्वाग्रह नभएको स्पष्ट पार्दै देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको बताएका छन् ।
सहकारी ठगीमा दोषी ठहर भए मात्र लामिछानेलाई कारबाही हुने भन्दै उनले अनुसन्धानमा सहयोग गर्न रास्वपालाई आग्रह गरे ।
देउवा गृह जिल्ला डडेलधुराका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनगढी पुगेका हुन । काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् ।