झापा । युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा सङ्कल्पयात्रा’ सुरु भएको छ । काँकडभिट्टाबाट सुरु भएको यात्रा आगामी मङ्सिर ४ गते महाकालीमा समापन हुने अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए ।
यो यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने नेपाली कांग्रेसको अपेक्षा छ।
यस अभियान मार्फत् रोजगारी सुनिश्चितताका लागि दबाव सिर्जना गर्ने, सुशासनका लागि खबरदारी गर्ने तथा मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने तयारी छ ।
अभियानले सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाव समेत सिर्जना गर्ने कांग्रेसको विश्वास रहेको शाहीले बताए ।
कांग्रेसका क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकीका अनुसार यात्रा इटहरी–लहान–जनकपुर–लालबन्दी–वीरगञ्ज–भरतपुर–लमही– वीरेन्द्रनगर, कोहलपुर हुँदै महाकाली पुगेर समापन हुनेछ ।