काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले दोस्रोपटक चार्टर्ड उडान गरेको छ । पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा सिचुवान एयरलाइन्सले दोस्रोपटक चार्टर्ड उडान गरेको हो । योसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि हालसम्म आठौँपटक अन्तर्राष्ट्रिय उडान भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीका अनुसार, सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान १२० यात्रुसहित आज दिउँसो २ बजे पोखरा अवतरण गरेर ३ बजेर ४० मिनेटमा चीनको कुनमिङ उडेको थियो । यद्यपि, यो विमानस्थलमा विभिन्न चार्टर्ड उडान भए पनि अहिलेसम्म व्यावसायिक नियमित उडान हुन सकेको छैन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ०७९ पुस १७ गते उद्घाटन गरिएको थियो । विसं २०८० असार ६ गते सिचुवान एयरलाइन्सले पोखरामा पहिलो चार्टर्ड उडान गरेको थियो । एयरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान भरेको हो ।
खेलकुदका माध्यमबाट नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पर्यटकीय राजधानी पोखरामा यही कात्तिक २४ गतेदेखि हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आएका हुन् ।
‘साझा समृद्धिका लागि दौड’को नारासहित हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलक चीनका खेलाडीले प्रतिस्पर्धा जनाउने छन् ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका दौडको आयोजक छन् । हिमालयन टुरिजम फोरमले कार्यान्वयन गर्ने प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने छ । नेपालस्थित चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय खेलकुद ब्युरो, युनान प्रान्तीय सरकारको विदेश मामिला कार्यालय, सिल्क रोड सिटिज एलायन्सजस्ता संस्थाहरूले प्रतियोगितालाई सघाउने बताइएको छ ।
प्रतियोगिताका लागि चिनियाँ खेलाडी आज चीनको कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडानबाट आएको प्रतियोगिताको आयोजक हिमालय टुरिजम फोरमले जनाएको छ । (रासस)