मनिला । गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ । आँधीका कारण ३९ जना अझै बेपत्ता रहेको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले सोमबार जनाएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार ट्रामीले फिलिपिन्सका १७ वटा क्षेत्रमा ६७ लाखभन्दा बढी मानिसहरूलाई प्रभावित बनाएको छ भने अझै बाढीपहिरोका प्रभावितहरूको खोजी कार्य जारी रहेको छ ।
यस वर्ष फिलिपिन्समा आएका चक्रवातमध्ये ट्रामी ११औँ चक्रवात हो र यसले विशेष गरी बिकोल, क्यालाबारजोन र मध्य तथा दक्षिणी फिलिपिन्सका क्षेत्रहरूमा तुलनात्मक रूपमा बढी क्षति गरेको भए पनि फिलिपिन्सभरि प्रभाव पारेको थियो । आँधीसँगै आएको बाढीले राजमार्ग, पुल लगायतका संरचना ध्वस्त पारी यातायात अवरुद्ध भएको छ ।
शुक्रबार ट्रामी फिलिपिन्सबाट बाहिरिए पनि पीडितहरू अझै खाना, पानी लगायतका आधारभूत आवश्यकता आपूर्तिको पर्खाइमा रहेका छन् । शनिबारदेखि बाढीपहिरोको प्रभाव कम भएपछि केही पीडितहरू आफ्नो घर फर्कन थालेका छन् ।
यद्यपि, परिषद्ले करिब दश लाख विस्थापितहरू अझै पनि निकासी केन्द्रमा वा आफन्तहरूसँग बसिरहेको जनाएको छ ।
चक्रवात ट्रामीले पूर्वाधारमा अनुमानित क्षति २६.३५ मिलियन अमेरिकी डलर तथा कृषिमा ४३ मिलियन अमेरिकी डलर बराबरको क्षति पुगेको जनाइएको छ ।
फिलिपिन्सले अर्को उष्णकटिबन्धीय चक्रवात, कङ–रेको सामनाको तयारी गरिरहेको छ, जुन लुजन टापुबाट ७५५ किलोमिटर पूर्वमा फिलिपिन्स सागरमा सोमबार बिहान अवतरण भएको छ । यो चक्रवात पनि तीव्र गतिसहित आउने हुँदा विनाशकारी बन्नसक्ने मौसम विभागले चेतावनी दिएको छ । (रासस/सिन्ह्वा)