काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार नभएको नेपाल प्रहरीले जनाएको छ ।
आज दिउँसो जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै लामिछानेलाई दुर्व्यवहार गरेको भनेर सामाजिक सञ्जालहरूमा भ्रम फैलाएको दाबी गरेको छ।
इजलासमा हतियारसहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण भएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
‘केही दिनयता विभिन्न सामाजिक सञ्जालहरुमा अनुसन्धानको क्रममा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री माननीय रवी लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा मिति २०८१।०७।०८ गते म्याद थप गर्न सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक लगायतका सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।