काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।
गैरआवासीय नेपाल संघ (एनआरएनए) द्वारा आज आयोजत गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन् ।
‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनिसकेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । सबै मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले एनआरएनएभित्र राजनीति नगर्न आग्रह गरेका छन् । उनले राजनीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न सुझाव दिएका हुन् । एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिरै राख्नुपर्ने आफूले लामो समयदेखि बताउँदै आएकोसमेत प्रधानमन्त्रीले ओलीले बताए ।
गैरआवासीय नेपाली संघको छविलाई कायम राखी संगठनलाई एकताबद्ध राख्दै साझा हितका लागि काम अनुरोध गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारका तर्फबाट संघलाई कुनै हस्तक्षेप हुँदैन, निष्पक्ष भइ स्वतन्त्ररुपमा काम गर्नुहोस्, सहयोग गर्न सरकार तयार छ ।’
उनले भने, ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन। राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । त्यसैगरी सभामुख, प्रधानन्यायाधीशजस्ता पद साझा हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’
आफू सन् १९९९ मा मस्को जाँदा डा उपेन्द्र महतोसँग गैरआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट गरे ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विरोधसभालाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले भने ‘हिजो एक जना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्ष्या छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नी धम्क्याएका भरमा खाने ।’
प्रधानमन्त्री ओलीले थपे, ‘म त्यसलाई फेरि हतियार कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका पनि हामलिाई थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौ तर बिसाउन चाँही लगाउन जानेको छ हामीले ।’