काठमाडौं । सत्ता गठबन्धन प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको काममा कांग्रेस सन्तुष्ट रहेको बताएका छन् ।
सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको तर्क गर्दै देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको स्पष्ट पारेका छन् ।
सबै किसिमबाट सरकारले गति लिएको भन्दै सभापति देउवाले विपद् व्यवस्थापन र राहत, उद्धारमा राम्रो काम गरेन भनेर भ्रम फैल्याइएको टिप्पणी गरेका छन् । देउवाले ओली २ वर्ष प्रधानमन्त्री बनिसकेपछि बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने स्पष्ट पारेका छन् ।
देउवाले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भनेका छन्, “सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि ! राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम । दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ? कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्या आउनु स्वाभाविक हो । सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने त्यस्तो केही छैन ।”