पोखरा । गण्डकी सरकारमा सामेल नेकपा एमालेका ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका छन् ।
जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो ।
गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
नेपाल समाजवादी पार्टीका फणीन्द्रको मन्त्रालय यथावत राखिएको छ भने कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै आर्थिक मामिलामा डा। टकराज गुरुङ र समाजिक विकासमा विन्दुकुमार थापा छन् ।
केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेको २ महिनापछि गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।