झापा । झापाको अर्जुनधारा नगरपालिका– ५ मा एक नाबालिगमाथि सामूहिक बलात्कार गर्ने ७ जना मध्ये ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । एकजना फरार छन् ।
शुक्रबार राति ती युवाले १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
बलात्कारको घटनामा संलग्न आरोपमा अर्जुनधारा नगरपालिका –५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ अर्जुनधारा–८ नयाँ बजारस्थित बाख्रा हाटको फलैँचामा ती बालिकालाई बलात्कार गरेका थिए । राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटेल एन्ड रिर्सोर्टमा अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले सामूहिक बलात्कार गरेको बताइएको छ ।
प्रहरीले घटनाबारे शनिबार साँझमात्र जानकारी पाएपछि ती युवाहरुलाई पक्राउ गरेको बताइएको छ । पीडित बालिकाको उपचार भइरहेको बताइएको छ ।