पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारी पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृह प्रवेशद्वारमा प्रधानमन्त्री दाहाललाई सूर्यदर्शन सहकारी पीडितहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा लगाउँदै कालो झण्डा र ब्यानर देखाएका हुन् ।
कालो झण्डा र ब्यानर देखाउने एक दर्जन पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने केही घाइते भएको बताइएको छ ।
प्रधानमन्त्री दाहाल माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन सभागृहमा पुगेका थिए ।
सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रहरीले लात्ती प्रहार गरेर ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठलाई घाइते बनाएको बताएका छन् ।
सहकारीका पीडितले न्याय माग्दा धरपकड भएको भन्दै आजत्ति जनाएका छन् ।