काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ।
स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो ।
रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताए।
व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे।
व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने साढे ९ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ।
कुल १ हजार ९५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको १ हजार ६०० ढलानको काम पूरा भएको छ भने ९ किलोमिटर लामो नालाको काम पनि प्रायः पूरा भएको सबइन्जिनियर यादवले जानकारी दिए।
‘आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ,’ उनले भने, ‘उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ।’ (रासस)