सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १३ स्थित श्री फटकशिला मा.वि.को अभिभावक भेलाले सम्पन्न भएको छ । वडा अध्यक्ष श्रीराम घोरासाइनीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नगर शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम दंगाल, पुर्व वि.व्य.स.अध्यक्षहरु, समावसेजी, बुद्धिजिवि, शिक्षासेवी, प्र.अ. हरिप्रसाद पौडेल, शिक्षक वर्गहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु एवं अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्र. अ. हरिप्रसाद पौडेलले विद्यार्थीको पढाईको विषयमा घरमा अभिभावकले पनि विशेष चासो राख्नु पर्ने बताउँदै आफ्ना छोरा छोरीको पढाईको अवस्थाको बारेमा बेला बेलामा स्कुलमै आएर निगरानी पनि गर्नुपर्ने बताएका छन् ।
विद्यालयको शैक्षिक प्रतिफलको विषयमा चर्चा गर्दै प्रअ पौडेलले भने – ‘सोचे अनुसारको नतिजा निकाल्न नसकेकोमा हामी चिन्तित छौ । हाम्रा विद्यार्थीहरु फेल हुँदा हामी फेल भएका छौ, अभिभावक फेल भएका छन् ।’
त्यस्तै उनले वि.व्य.स.अध्यक्षमा शिवराम दंगालको कार्यकाल अहिले सम्मकै उत्कृष्ट रहेको भन्दै आगामी नेतृत्वबाट त्यस्तै अपेक्षा गरिएको बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम दंगालले आफ्नो तीन वर्षे कार्यकालमा भएका कार्यहरुको चर्चा गर्दै विद्यालयको रङरोगन, विद्यालयसम्म पुग्ने बाटोको ढलान, पक्की ट्वाइलेट, ग्राउनमा इन्टरलक, कर्मचारीहरुलाई सु–व्यवस्थित गर्न इ–हाजिरी सिस्टम जडान लगाएतका थुप्रै कार्य गरेको उल्लेख गरे । उनले आफ्नो पहुँचले भ्याएसम्म आगामी दिनहरुमा पनि विद्यालयको वृद्धि विकासमा लागि रहने प्रतिवद्धता जनाएका छन् ।
सो भेलाले विद्यायलय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पुर्नगठन गरेको छ । नगर शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समितिले स्थानिय शिक्षा ऐन अनुसार संघ पुनर्गठन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शम्भु प्रसाद दंगाल र सदस्यहरुमा प्रशिका तामाङ, सुविन दनुवार, विनोद दनुवार चयन भएका छन् । त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा बलराम दनुवार र सदस्यहरुमा बेली दनुवार, समिता दनुवार निर्वाचित भएका छन् ।
नगर शिक्षाका प्रतिनिधि श्रोत व्यक्ति सुनिल कुमार भण्डारीले नव निर्वाचित टिमलाई कार्यकाल सफलताको शुभकामना दिदै उनले भने विद्यार्थीको शैक्षिक विकासमा शिक्षक वर्ग, विद्यार्थी, अभिभावक र व्यवस्थापन टिम सबैको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताए ।
विद्यालय व्यवस्थापन समितिका नव निर्वाचित अध्यक्ष शम्भु प्रसाद दंगालले सामुदायिक विद्यालयको शैक्षिक अवस्था नाजुक रहेको उल्लेख गरेका छन् । श्री फटकशिला मा.वि. को शैक्षिक नतिजालाई हेर्दा झनै ओरालो लाग्दै गएकाले यसलाई सुधार्न शिक्षक वर्गहरुकै बढि जिम्मेवारी र दायित्व हुनुु पर्ने बताएका छन् ।
भौतिक पुर्वाधारमा सहज भएपनि शैक्षिक प्रगतीमा सुधार हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले विद्यालयको शैक्षिकस्तरप्रति विद्यार्थी अभिभावकहरुले विश्वास गर्न लायक बनाउनु पर्नेमा जोड दिएका छन् । विद्यालयको शैक्षिक प्रतिफल राम्रो नआएसम्म समुदाय बाटै विश्वास गुम्दै जाने खतरा रहेको उल्लेख गर्दै त्यसलाई चिर्न शिक्षक वर्गले नै थप मेहनत गर्नुुपर्ने उल्लेख गरेका छन् ।
सो विद्यालयमा हाल ३०० सय विद्यार्थीहरु रहेकोमा ८० प्रतिशत सिमान्तकृत जनजाती विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् । उनिहरुका लागि शैक्षिक समाग्रीहरु सहयोगको अवश्याकता रहेको छ ।
त्यस्तै विद्यालयलमा पुस्तकालय, आइटिसि व्यवस्थापन, व्यवस्थित खानेपानी, घेराबार र चिल्डेन पार्क हरित विद्यालय निर्माणको लागि सरोकार वाला निकाय एवं सेवामुखी विभिन्न संघ सस्थाहरुलाई सहयोगको निम्ति विद्यालयको तर्फबाट अपिल गरिएको छ ।
त्यस्तै विद्यार्थीकै खाजा कार्यक्रमबाट भान्सेको व्यवस्थापन गर्दै आएकोले, त्यसलाई व्यवस्थित बनाउन एकजना भान्सेको लागि स्रोतको कुनै व्यवस्था नभएको हुदा यसमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण होस भन्ने विद्यालयले अपेक्षा गरेको दंगालले बताए ।