काभ्रे । रोशी गाउँपालिका–५ मा बिहीबार राती अज्ञात समूहले एउटा बुद्धचित्तको रुख काटिदिएको छ । केही महिनाअघि मात्रै ३ करोड रुपैयाँ ठेक्कामा लगाइएको थियो ।
रुख धनी शेरबहादुर तामाङले करिब ३ महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा लगाइएको बताएका छन् ।
तामाङले भने ‘गत वर्ष ९० लाख रुपैयाँ ठेक्कामा दिइएको सो रुख यस पटक वार्षिक ३ करोड रुपैयाँ पाउने गरि ठेक्का लगाइएको थियो ।’
तामाङका अनुसार उनका चार जना दाजुभाईमध्ये ३ जना काठमाडौंमा बस्छन् । ‘ दाजुभाउजु, बुहारी र दिदी अनि बच्चाबच्ची मात्र गाउँको घरमा हुनुहुन्थ्यो । राती हतियार देखाएर रुख काटेछन् । प्रतिकार पनि गर्न सक्ने अवस्था भएन । हामीलाई राती २ बजे रुख काटियो भनेर खबर आएको थियो’, शेरबहादुरले भनेका छन् ।
यस पटक भर्खर मात्रै फूल्न लागेको थियो । सम्झौता अनुसार, बिक्री भएको रूखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजान्थे । फल्नुअघि नै आएर अज्ञान समूहले रूख काटिदियो ।
यही व्यवसायमा रहेका अरुले आफूले नपाएको झोंकमा रुख काटिदिएको हुन सक्ने त्रिपाठीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी राजकुमार श्रेष्ठ फूल फूल्ने बेलामा किन र कसले रुख नै काट्यो भन्ने विषयमा अनुसन्धान थालिएको बताएका छन् ।
सूचना आएको एक घन्टाभित्र प्रहरी टोली त्यहाँ पुगेपनि संलग्न व्यक्तिहरु फरार भइसकेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा तामाङको घरको आँगनमा ४ वटा सकेट बम भेटिएको थियो । नजिकै ‘जनमुक्ति सेना नेपाल’ लेखिएको ज्याकेट पनि फेला परेको थियो । अनुसन्धानलाई अलमल्याउन उनीहरुले त्यो ज्याकेट छाडेको हुनसक्ने आशंका प्रहरीको छ ।
धार्मिक महत्वको बुद्धचित्त प्रशोधनपछि महँगोमा बिक्री हुने गर्छ । काभ्रेमा पाइने बुद्धचित्त व्यवसायीले खरिद गरेर चीनमा लगेर बिक्री गर्ने गरेका छन् ।