काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिन समिति नबन्ने बताएको छ ।
हल्का विषयमा पनि संसदीय छानबिन समिति बनाउँदै जाने हो भने गलत नजिर स्थापित हुने एमालेको भनाइ छ।
सभामुख देवराज घिमिरेले बोलाएको चार दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर छानबिन समिति बनाउनुपर्ने अडान लिएको बताए। कांग्रेसको माग तथ्य र प्रमाणमा आधारित नरहेको उनको भनाइ छ।
प्रमुख सचेतक बर्तौलाले संसदका विभिन्न विषयगत समिति रहेको र उक्त विषय सम्बन्धित जुनसुकै समितिमा पनि छलफल गर्न तयार रहेको बताए । ‘संसदका १० वटा समितिहरू छन्। त्यहीँ पनि यो विषय छलफल गर्न सकिन्छ। सरकारलाई सुझाव दिने धेरै ठाउँहरू छन्। त्यो हुँदाहुँदै गलत तरिका नअपनाउन भनेका हौं,’ उनले भने।
उनले मंगलबार बस्ने संसद बैठक कार्यतालिका अनुसार नै चल्ने बताए । मुठभेड ननिम्त्याउन कांग्रेसलाई आग्रह गरिएको उनको भनाइ छ ।




















