पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई आइतबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएको आधार मानेर मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई आजै शपथ गराइने बताइएको छ ।
नेता अधिकारीले आइतबार नै एमालेका २२, माओवादी केन्द्रका ८ र राजीव गुरुङसहित ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउँदै नयाँ सरकारको दाबी गरेका थिए ।
उता नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले खगराजलाई मुख्यमन्त्री बनाएकोमा आपत्ति जनाएका छन् ।
कांग्रेस सांसदहरूको टोलीले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै अधिकारीको दावी असंवैधानिक भएको जिकिर गरेका थिए । तर अधिकारीलाई त्यसअघि मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।