काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चितवन प्रहरीमा पठाइएको बताइएको छ । चिकित्सकहरुले आइतबार तयार गरेको रिपोर्टमा पोखरेलको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
आफन्तले शालिनको बलात्कार पछि हत्या भएको आशंका गरेका थिए भने चितवनमा निष्पक्ष रिपोर्ट आउनेमा शंका गर्दै पोष्टमार्टमका लागि प्रहरीको रोहवरमा टिचिङ ल्याएका थिए । चिकित्सहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गदौ शंकास्पद विषय नदेखिएको रिपोर्ट दिएको छ ।
रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ ९झुण्डिएर० भनिएको छ । यसले आत्महत्यातर्फ संकेत गर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ ।
स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । लगत्तै काठमाडौंबाट उनका बुबालाई बोलाएर प्रहरीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
तर, परिवारले शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि घटनाबारे गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै शनिबार स्ट्याटस लेखेका थिए ।
त्यस्तै आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डीएसपी श्रीराम भण्डारीसँग संयुक्त ब्रिफिङ लिएका छन् ।




















