बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धीधाम पञ्चकोटमा बुधबारदेखि शुरु भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ कार्यक्रममा सहभागी हुनु भएको छ ।
राष्ट्रपति पौडेलले बिहीबार महायज्ञअन्तर्गत पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको उद्घाटन गर्नुका साथै यज्ञ मण्डपको दर्शन र महायज्ञमा सहभागी हुनुभयो ।
नेपालका नदीहरु पवित्र रहेको र महायज्ञले जल संम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास पौडेलले व्यक्त गर्नु भयो । ‘मानव सभ्यताका लागि पानी अर्थात जलको महत्वपूर्ण भूमिका छ । पानीका श्रोत संरक्षणमा हामीले ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो ।
धर्म र पर्यटनका नाममा जंगल, जलस्रोत र पुराना सम्पदा मासिदै गएको गुनासो आइरहेका बेला राष्ट्रपति पौडेलले राष्ट्र शान्ति, राष्ट्र उन्नति नेपालको जल, जमिन, जंगल, सम्पदा र प्रकृतिको संरक्षणबाटै संभव रहेको बताउनु भएको छ ।
‘नदी सभ्यता जोगाएर धार्मिक पर्यटन मार्फत मुलुकको आर्थिक विकास गर्न सकिन्छ, विशेषत कालीगण्डकी नदीको सभ्यता र जलको संरक्षणमा ध्यान दिनु आवश्यक छ,’ राष्ट्रपपित पौडेलले भन्नु भयो ।
‘धौलागिरि क्षेत्र तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वरधामसंगै अहिले पञ्चकोटको नाम आइरहेको छ,’ पौडेलले भन्नु भयो, ‘म पहिला शालग्राम संग्रहालय आएको थिएँ, महायज्ञले धार्मिक प्रसार, जल संम्पदा, शालीग्राम जोगाउन योगदान पुग्नेछ।’
पञ्चकोटका संस्थापक स्वामी कमलनयना आचार्य (मुक्तिनाथ पीठाधीश्वर) को आह्वानमा महायज्ञ भइरहेको छ ।
बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट भएकाले पञ्चकोट भनिन्छ । यस क्षेत्रमा बाइसे–चौबिसे राजाहरूले देवीको पूजा–आराधाना गर्ने इतिहासमा उल्लेखित छ ।
ऐतिहासिक तथा पुरातात्विक महत्वका पाँच कोट डाडाहरु जो पुरातत्व विभागमा पनि सुचिकृत छन् । तर हाल ताराजालकोटको चुचो डाँडो सखाप पारी पञ्चकोटको नाम दिइ त्यहाँ विभिन्न भौतिक संरचना निर्माणका साथै हेलिप्याड, पार्क, मैदान बनाउँदा त्यहाँको ऐतिहासिक भौगोलिक संरचना विग्रिएको गुनासो आइरहेकाले बेला राष्ट्रपति पौडेलले सो कुरा बताउनु भएको हो ।